कपिलवस्तु । सामाजिक सञ्जाल तथा युट्युबबाट कृषि प्रविधिबारे जानकारी लिएर शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।
करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा खेती सुरु गरेका बेलवासेले हालसम्म तीन पटक ड्रागन फ्रुट उत्पादन गरिसकेका छन् । उनले रुपन्देहीको रानीबगियाबाट ६२८ वटा बिरुवा खरिद गरी १५७ वटा पोलमा चार–चार बिरुवा रोपेर खेती सुरु गरेका हुन् । बिरुवा प्रतिगोटा रु १६० का दरले खरिद गरिएको उनले बताए ।
अहिले बिरुवा पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन अपेक्षाकृत कम रहेको उनको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथोपटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा छ,” बेलवासेले भने ।
ड्रागन फ्रुटको बजार राम्रो भएकाले उत्पादित फल बिक्री गर्न समस्या नभएको उनले बताए । हाल प्रतिकिलो रु ४०० सम्ममा बिक्री भइरहेको र फल तयार भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको बेलवासेको भनाइ छ ।
युट्युबमार्फत खेतीसम्बन्धी जानकारी लिएपछि नयाँ बालीतर्फ आकर्षित भएको बताउने बेलवासेले सिँचाइको अभावलाई खेतीको प्रमुख चुनौतीका रूपमा लिएका छन् । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनले बताए ।
चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि तुलनात्मक रूपमा अनुकूल मानिए पनि उचित व्यवस्थापन गर्न सके कपिलवस्तुमा समेत राम्रो उत्पादन लिन सकिने बेलवासेको अनुभव छ । यद्यपि जिल्लामा अत्यधिक गर्मी हुने भएकाले खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनले बताए ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ड्रागन फ्रुट खेतीको कुल क्षेत्रफलको यकिन अभिलेख छैन । पछिल्लो समय भने किसानहरूले साना तथा छरिएका क्षेत्रमा यसको खेती सुरु गर्न थालेका छन् ।
व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानहरू ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएको चौधरीले बताए ।
परम्परागत बालीसँगै बढी आम्दानी दिने नयाँ फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दै जाँदा कपिलवस्तुमा पनि ड्रागन फ्रुट खेती विस्तार हुने सम्भावना देखिएको छ ।