बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

nepaltext

बाँके । रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको छ ।

रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीका कारण बाँकेका धेरै व्यक्ति बेपत्ता भएका छन् । बाढीपछि फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानमा कठिनाइ भएपछि आफन्तको डीएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको भने काठमाडौं र चितवनस्थित अस्पतालबाट नमूना लिइएको छ ।

बेपत्ता व्यक्तिको शव पहिचानका लागि पहिलो तहका नातेदार—बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज–२० निवासी अनलाल रोकायले डीएनए परीक्षणपछि बाढीमा बेपत्ता भएका आफ्ना दाजु–भाउजू र छोराको अवस्था पहिचान हुनेमा आशावादी रहेको बताए । उनका १९ वर्षीय छोरा दीपक तथा ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीया भाउजू विष्णुमती भोटेकोशी बाढीपछि एकैसाथ बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन् । हालसम्म तीन जनाको शव पहिचान गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

यसैबीच बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ सहयोग जम्मा भएको छ । विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले ६ लाख एक हजार रुपैयाँ, नेपाल ज्वेलर्सले दुई लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट सङ्कलित रकम रहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । जिल्ला प्रशासन कार्यालयमा प्राप्त सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था तथा नागरिक तहबाट उद्धार कोषमा थप राहत रकम जम्मा भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया