भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

nepaltext

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । ल्हेन्दे खोलामा आएको बाढीका कारण जिल्लामा हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ जना विदेशी पर्यटक छन् । सुरक्षाकर्मी तथा स्थानीयको समन्वयमा उनीहरूको उद्धार गरिएको हो ।

बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौंतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रशासनले जनाएको छ ।

विपद्पछि जिल्लामा ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन भएका छन् । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी सम्पर्कबाहिर छन् ।

त्यसैगरी रसुवाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ तथा २६६ विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको अधिकारीले जानकारी दिए ।

बाढीपहिरोपछि विभिन्न स्थानमा फेला परेका शवमध्ये छ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ । सनाखत हुनेमा उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन् ।

विभिन्न स्थानबाट फेला परेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको छ । बाँकी शवको सनाखत तथा डीएनए परीक्षणका लागि आवश्यक मुचुल्का उठाउने प्रक्रिया भइरहेको प्रशासनले जनाएको छ ।

बाढीपहिरोले जिल्लाको भौतिक पूर्वाधारमा पनि व्यापक क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।

जिल्लाको मुख्य यातायात मार्गका रूपमा रहेको ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ । बाढीले छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । जिल्लाका आठ जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् ।

विस्थापित भएका ७ हजार ३३ नागरिकलाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि र गणेश आधारभूत विद्यालयलगायत स्थानमा उनीहरूका लागि गाँसबासको व्यवस्था गरिएको छ ।

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार, राहत तथा समन्वयमा सहज भएको छ।

प्रतिक्रिया