इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित

nepaltext

काठमाडौं । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ।

ज्वालामुखीको खरानीका कारण विमानस्थलमा उडान सञ्चालन अस्थायी रूपमा रोकिँदा अन्तर्राष्ट्रिय उडानसहित २०९ वटा उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।

अनाक क्राकाटाउमा शुक्रबार रातिदेखि गतिविधि बढेर विस्फोट भएको थियो। त्यसबाट निस्किएको खरानी इन्डोनेसियाका सुमात्रास्थित लाम्पुङ तथा जाभास्थित बान्टेनलगायत क्षेत्रमा फैलिएको छ। मौसम विज्ञान निकायका अनुसार खरानीको बादल १५ हजार मिटर उचाइसम्म पुगेको थियो।

खरानीका कारण केही विद्यालयका गतिविधि रोकिएका छन् भने स्थानीय बासिन्दामा आँखामा जलन देखिएको र माछा मार्ने गतिविधिसमेत प्रभावित भएको अधिकारीहरूले बताएका छन्। सर्वसाधारणलाई मास्क तथा आँखाको सुरक्षा सामग्री प्रयोग गर्न र बाहिरी गतिविधि कम गर्न आग्रह गरिएको छ।

विपद् व्यवस्थापन अधिकारीहरूले भने तत्काल सुनामीको जोखिम नरहेको बताएका छन्।

प्रतिक्रिया