विराटनगर । हाइप्रोफाइल निर्वाचन क्षेत्रका रूपमा परिचित सुनसरी जिल्लाको क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवारका रूपमा सिफारिस गर्नुपर्ने प्रस्ताव क्षेत्रीय कमिटी बैठकमा उठेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने अधिकार जिल्ला कमिटीसँग रहे पनि क्षेत्रीय कमिटीको बैठकमा प्रचण्डको नाम प्रस्तावित भएको पार्टीका नेता शिव डाँगीले जानकारी दिए । ‘क्षेत्रको बैठकमा उहाँको नाम लिइएको हो, उम्मेदवारको सिफारिस पार्टीको जिल्ला कमिटीले गर्छ, भोलि जिल्ला पार्टीको बैठक बस्दै छ, कसलाई सिफारिस गर्ने भन्ने विषय जिल्लाले टुंग्याउँछ,’ डाँगीले भने ।
क्षेत्रीय कमिटीले प्रचण्डसहित पाँच जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । सिफारिस सूचीमा महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वाल रहेका छन् । समानुपातिकतर्फ भने योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरिएको छ । बिहीबार बस्ने पार्टी बैठकले जिल्लाका सबै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याउने बताइएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ यसअघि पनि हाइप्रोफाइल उम्मेदवारहरूको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको क्षेत्र हो । पछिल्ला दुई निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याएका थिए । दुवैबीचको मतान्तर मात्र ११२ रहेको थियो । २०७४ सालको निर्वाचनमा पनि कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै ३२ हजार ३४७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए ।
इतिहासमा हेर्दा सुनसरी ४ बाट ०४८ सालमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । ०५१ सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला विजयी भए भने ०५२ सालमा कोइरालाले एक निर्वाचन क्षेत्र छाडेपछि एमालेका नेता जगदीश कुसियैत निर्वाचित भएका थिए । ०५६ सालमा पुनः गिरिजाप्रसाद कोइराला निर्वाचित भए । संविधानसभा निर्वाचन ०६४ मा फेरि उपेन्द्र यादव विजयी भए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र पुनर्संरचना हुँदा तत्कालीन सुनसरी ६ बाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए ।
यसैबीच मोरङ जिल्लाका निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवार सिफारिस भएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको एकल नाम सिफारिस गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि मोदीलाई उम्मेदवारका रूपमा अघि सारेको हो । मोदी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यस्तै मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस गरिएको छ । २०७९ सालको निर्वाचनमा मण्डल सोही क्षेत्रबाट पराजित भएका थिए । मोरङका छ वटा निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि कुल ८० जनाको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।