इन्जिनियर हत्या प्रकरण: हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम गर्दै मागियो गृहमन्त्रीको राजीनामा

श्याम खतिवडा

जनकपुरधाम । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै सिरहामा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। यादवको गृहजिल्ला सिरहाको धनगढीमाई बजारमा भेला भएका स्थानीय तथा आक्रोशित आफन्तजनले महेन्द्र राजमार्ग अवरुद्ध पारेर चक्काजाम गरेका हुन्। उनीहरूले केही समय सवारी आवागमन पूर्ण रूपमा ठप्प पार्दै सरकार र गृह प्रशासनविरुद्ध नाराबाजी समेत गरेका छन्।

प्रदर्शनकारीहरूले मृतकका परिवारलाई तत्काल न्याय दिनुपर्ने, घटनाको गहिरो छानबिन हुनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन्। हत्या भएको यतिका समय बितिसक्दा पनि अपराधीको सुराकसम्म पत्ता लगाउन नसकेको भन्दै उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत मागेका छन्। राज्यले शान्ति सुरक्षा कायम गर्न नसकेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै न्याय नपाए थप सशक्त आन्दोलन गर्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।

यता, प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयले शंकास्पद क्षेत्र र व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र संलग्नहरू चाँडै कानुनको नियन्त्रणमा आउने विश्वास दिलाएको छ। यद्यपि, प्रहरीको आश्वासनप्रति स्थानीय विश्वस्त हुन नसक्दा सिरहामा तनावपूर्ण स्थिति सिर्जना भएको छ।

प्रतिक्रिया