काठमाडौंबाट लुटिएको हतियार दमक–इलाम क्षेत्रमा विक्रि गर्नै लाग्दा भेटियो

nepaltext.com

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रानीपोखरीबाट हतियार लुट्ने समूहका एक सदस्य, दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी सर्वप्रथम पक्राउ परेका थिए। दमकमा बसोबास गर्दै आएका उनी जेनजी आन्दोलनका क्रममा काठमाडौं पुगेका थिए। पुरीको कोठामा खानतलासी गर्दा रानीपोखरीबाट लुटिएको टाइप–५४ मोडलको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा पुरीले अर्को एउटा पेस्तोल र केही गोली दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको स्वीकारेका थिए। विश्व नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेर उनले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए। पछि माओवादी छाडेर उनी नेपाली कांग्रेसतिर लागेका थिए।

पुरीको बयानकै आधारमा प्रहरीले २९ वर्षीय विश्व लिङ्देनलाई घरमै गएर पक्राउ गर्यो। सोधपुछमा उनले आफ्नै हातमा आएको पेस्तोल इलामका साथीलाई बेचिदिएको बयान दिएका थिए। विश्वको स्वीकारोक्तिपछि सोमबार प्रहरी टोली इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुगेको थियो। त्यहाँ ३० वर्षीय पवन हाङसुङ्वासँग सोधपुछ गर्दा उनले विश्वबाट २० हजार रुपैयाँमा पेस्तोल खरिद गरेको र बारीमा लुकाएर राखेको बताएका थिए।

उनको बयानपछि प्रहरी टोलीले उत्खनन् गर्दा रातो प्लास्टिकको झोलामा बेरेर राखिएको, ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल बरामद गरियो। माटोमा गाडेर राखिएको लामो समय भएकाले उक्त पेस्तोलमा खिया लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार, ‘विश्वले सुरुमा २० हजार रुपैयाँमा बेचेको भन्यो, पछि फेरि राख्न दिएको भन्दैथियो,’ र ‘लागुऔषध कारोबारी खोज्ने क्रममा हतियार भेटिएको हो, तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन् । रानीपोखरीले थप अनुसन्धान गर्ला ।’ भन्ने विवरण प्राप्त भएको छ। बरामद दुबै पेस्तोल, २० राउण्ड गोली तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया