कमलामाई (सिन्धुली) । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानस्थित भैँसीको मासु प्रशोधन उद्योग 'हिमालयन फुड कम्पनी' मा कार्यरत नेपाली र चिनियाँ कामदारहरूबीच झडप हुँदा ७ जना घाइते भएका छन्। मरिण गाउँपालिका-६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा दुई पक्षबीच कुटाकुट भएको हो। उक्त झडपमा परी दुईजना नेपाली र पाँचजना चिनियाँ कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
झडपमा परी नेपाली कामदार नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका-१२ बस्ने २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ। त्यसैगरी, घाइते हुने चिनियाँ नागरिकहरूमा ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी रहेका छन्। उनीहरूको कान, टाउको, हात, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैको हाल मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको छ। कामबाट निकाल्ने कम्पनीको निर्णयका कारण उत्पन्न विवादले हिंसात्मक मोड लिएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। स्थानीय प्रशासनले उद्योग क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्दै घटनामा संलग्नहरूको बारेमा सुक्ष्म अध्ययन भइरहेको बताएको छ।