नेपालका पूर्वप्रधानमन्त्री तथा केपि शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पारिवारिक तथा धार्मिक परम्परा अनुसार भएको अन्त्येष्टि समारोहमा स्वयं ओलीले मुखाग्नि दिएका थिए। मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल कोरिया फ्रेण्डसिप अस्पतालमा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। अन्त्येष्टि अघि अस्पतालमै उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, पार्टी कार्यकर्ताहरू, परिवारका सदस्य तथा आफन्तहरू पुगेका थिए।
मोहनप्रसाद ओली केही समयदेखि भक्तपुरको गठ्ठाघरमा रहेको आफ्नी छोरीको घरमा बस्दै आएका थिए। यसअघि भने उनी बेलाबेला झापास्थित आफ्नै घरमा आउजाउ गर्ने गर्थे। तर गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झापामा रहेको उनको घरमा आगजनी भएको घटनापछि उनी पुनः झापा फर्किएका थिएनन्। त्यसयता उनी परिवारसँगै काठमाडौँ उपत्यकामै बस्दै आएका थिए। आज उनको निधनसँगै ओली परिवार शोकमा डुबेको छ भने विभिन्न राजनीतिक दलका नेताहरूले समवेदना व्यक्त गरेका छन्।