एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

nepaltext

काठमाडौँ। मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । तीन खेलबाट ६ अङ्क जोडेको नेपाल अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले, आयोजक मलेसियालाई छ विकेटले र साउदी अरेबियालाई पाँच विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा जित निकालेको नेपाली टोली हङकङविरुद्ध पनि सहज जितको खोजीमा हुनेछ ।

हङकङले भने तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । नेपालसँगको खेल उसका लागि पनि समूहको महत्वपूर्ण प्रतिस्पर्धा हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक भेट भएको छ । त्यसमा नेपालले एक खेल जित्दा हङकङले दुई खेलमा सफलता हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुई टोलीबीच पछिल्लो एकदिवसीय खेल सन् २०१८ मा भएको थियो । उक्त खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाली टोली आज पनि सोही इतिहास दोहोर्‍याउँदै समूह चरणको यात्रा अपराजित रूपमा टुंग्याउने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया