म्याग्दी । शिरमा ढाका टोपी, इस्टकोटमाथि सेतो भाङ्ग्रा, ट्याक पाइन्ट र घुँडासम्म आउने गमबुट । ८१ वर्षका लालबिर तिलिजाको पहिरन जति आकर्षक छ, भेडाबाख्राको बथानसँगै लेकाली क्षेत्रमा उहाँको सक्रियता पनि उत्तिकै लोभलाग्दो छ ।
समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा भदौ दोस्रो साता भेटिएका लालबिर भेडाबाख्राको बथान चरन क्षेत्रमा लैजान व्यस्त हुनुहुन्थ्यो । उमेरले आठ दशक पार गरे पनि उहाँको दैनिकी अझै गोठमै बितिरहेको छ ।
पाउद्वारका लालबिरका अनुसार उहाँको परिवारमा भेडापालन चार पुस्तादेखि चल्दै आएको छ । आफूले पनि छ वर्षको उमेरदेखि भेडागोठमा बस्न थालेको र अहिलेसम्म यो परम्परा नछाडेको उहाँले बताउनुभयो ।
हाल एक सय ६० वटा भेडाबाख्रा पाल्दै आउनुभएका लालबिर गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्नुहुन्छ भने हिउँदमा चिसो छल्न घुम्ती गोठसहित बेँसी झर्नुहुन्छ ।
बुढ्यौली बढ्दै गएपछि भतिज टेकजित तिलिजासँग उहाँले संयुक्त गोठ बनाउनुभएको छ । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्वारका तीन वटा भेडागोठ छन् । ती गोठमा करिब दुई हजार भेडाबाख्रा पालिएका छन् । जेठमा लेक उक्लिएका गोठालालाई गाउँबाट आफन्तले हप्तादश दिनमा खाद्यान्न पुर्याउने गर्छन् ।
लालबिरका लागि भेडापालन जीविकोपार्जनको मुख्य आधार हो । यही व्यवसायबाट नौ जना छोराछोरी हुर्काउनुका साथै पढाउन सफल भएको उहाँ बताउनुहुन्छ ।
“घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोत नै भेडापालन हो,” उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काएँ र पढाएँ ।”
सहरको सुविधाभन्दा स्वच्छ हावापानीमा गोठालो जीवन बिताउन आफूलाई आनन्द लाग्ने उहाँको भनाइ छ । उहाँका दौतरीहरू भारतीय तथा बेलायती गोर्खा सेनामा भर्ती भए पनि आफू भने वनपाखामै रमाएको सुनाउनुहुन्छ ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा पोखरामा घडेरी किनेर घरसमेत बनाउनुभएका लालबिरले त्यहाँ लामो समय बस्न नसकेको बताउनुभयो । एक वर्ष पोखरा बसेपछि आफूलाई असहज महसुस भएको र पुनः भेडाबाख्रा लिएर लेकबेँसी गर्न थालेको उहाँले सुनाउनुभयो ।
“छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बसेँ । कुज्जिएको जस्तो लागेपछि फेरि भेडाबाख्रा लिएर लेकबेँसी गर्न थालेँ,” उहाँले भन्नुभयो, “शरीर र स्वास्थ्यले साथ दिएसम्म भेडाबाख्रासँगै बिताउने योजना छ ।”
कुनै समय उहाँसँग पाँच सयभन्दा बढी भेडाबाख्रा थिए । अहिले पनि वार्षिक करिब ५० वटासम्म भेडाका साँढ, खसी तथा बोका बिक्री हुने गरेका छन् । जनैपूर्णिमामा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बलि चढाउन गोठबाटै साँढे तथा बोका खरिद गरेर लैजाने गर्छन् । एउटा साँढको मूल्य २० हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने लालबिर बताउनुहुन्छ ।
दसैँ–तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति र भूमे पूजालगायत चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुने गरेका छन् ।
प्रविधिको विकाससँगै लेकमा बसेर पनि आफन्तसँग सम्पर्कमा रहन सहज भएको छ । फुर्सदको समयमा रेडियो सुन्ने र मोबाइल चलाउने लालबिरले गोठमा उज्यालोका लागि घुम्ती सोलार प्यानलसमेत राख्नुभएको छ । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा जोगाउन प्रत्येक गोठमा कम्तीमा तीन वटा भोटे कुकुर पाल्ने गरिएको छ ।
तर, परम्परागत घुम्ती गोठमा आधारित भेडापालन पछिल्लो समय विभिन्न चुनौतीमा परेको उहाँको अनुभव छ । लेकाली क्षेत्रमा विषालु घाँस उम्रिन थालेको, हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव हुने गरेको र तापक्रम वृद्धिको प्रभावसमेत देखिन थालेको उहाँ बताउनुहुन्छ ।
वन्यजन्तुको आक्रमणसँगै गोठमा बस्ने जनशक्ति पाउन कठिन हुँदै जानु पनि भेडापालनको अर्को चुनौती बनेको छ । यस्ता चुनौतीबीच पनि ८१ वर्षीय लालबिरको भेडाबाख्रासँगको यात्रा भने अझै रोकिएको छैन ।