लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत प्रभावित भएको छ । नियमित सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।
भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहर–काठमाडौँ चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको बाटोबाट सञ्चालन भइरहेका छन् । नियमित मार्गबाट करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ ।
लामो र घुमाउरो वैकल्पिक मार्गका कारण यात्रुको समय र खर्च दुवै बढेको छ । साथै, यात्रु तथा सवारीसाधनको सङ्ख्या घट्दा यातायात व्यवसायीको आम्दानीसमेत प्रभावित भएको छ ।
बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँच–सात वटा मात्र सञ्चालनमा छन् । अत्यावश्यक काम परेका यात्रुले मात्र काठमाडौँ जाने गरेका छन् ।
सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९ सय र विद्युतीय माइक्रोबसको ७ सय रुपैयाँ रहेकामा अहिले क्रमशः २ हजार र १ हजार ५ सय रुपैयाँ पुगेको छ ।
माइक्रोबस चालक मुस्कान राईले वैकल्पिक मार्ग लामो भएकाले काठमाडौँ पुग्न धेरै समय लाग्ने बताए । उनका अनुसार बाटो लामो हुँदा इन्धन तथा सञ्चालन खर्च पनि बढेको छ ।
ठूला बसमा पनि यात्रुको चाप घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँ दैनिक पाँच–छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा मात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार खर्च फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन । यसअघि सवारीसाधनअनुसार ९ सयदेखि १ हजार २ सय रुपैयाँसम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी पुगेको छ ।
सडक अवरोधको असर उपचारका लागि काठमाडौँ तथा अन्य सहरमा रेफर हुने बिरामीलाई समेत परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।
काठमाडौँ लैजानुपर्ने बिरामीलाई एम्बुलेन्सबाट घुमाउरो बाटो हुँदै लैजानुपर्ने तथा कतिपय अवस्थामा पोखरासम्म एम्बुलेन्समा पुर्याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए । यसले बिरामी तथा आफन्तको समय र उपचार खर्च दुवै बढाएको उनको भनाइ छ ।
बेँसीसहरकी प्रकृति श्रेष्ठले पनि वैकल्पिक मार्ग प्रयोग गर्दा यात्रा निकै लामो र खर्चिलो भएको बताइन् । भदौ २० गते काठमाडौँबाट बेँसीसहर फर्किँदा उनले माइक्रोबसको भाडाबापत २ हजार रुपैयाँ तिर्नुपरेको बताइन् । काठमाडौँ जाँदा भने उनले ९ सय रुपैयाँ मात्र तिरेकी थिइन् ।
उनका अनुसार वर्षाका कारण वैकल्पिक बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले यात्रा थप जोखिमपूर्ण र थकाइलाग्दो बनेको छ ।
कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म लमजुङ–काठमाडौँ यात्रुले लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण थप सास्ती व्यहोर्नुपर्ने अवस्था देखिएको छ ।