काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका क्रममा केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका छन् ।
नेपाल पत्रकार महासंघका अनुसार थामी केरुङ पुगेपछि सम्पर्कविहीन भएको जानकारी उनका परिवारले महासंघलाई गराएका हुन् । महासंघले थामीको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
यसैबीच, नुवाकोटको विदुर–७ का पत्रकार तथा रातोपाटीकर्मी निराजन पौडेलका परिवारका पाँच सदस्यसमेत बाढीपछि सम्पर्कविहीन भएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनीको अवस्था अज्ञात रहेको महासंघले जनाएको छ ।
महासंघले बेपत्ता पत्रकार थामीसहित पत्रकारका परिवारका सदस्यको खोजी तथा उद्धारका लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सञ्चार सेवा समेत प्रभावित भएको भन्दै महासंघले सञ्चारमाध्यमको नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
सञ्चार सेवा नियमित नहुँदासम्म सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न सहयोग गर्न महासंघले सबै पक्षसँग अपिलसमेत गरेको छ ।