अर्घाखाँचीमा पत्नीको हत्या गरेर भान्सामा गाड्ने पति पक्राउ

श्याम खतिवडा

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा आफ्नै पत्नीको हत्या गरी भान्साकोठामा गाड्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई आठ वर्षयता पातलेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले भदौ १२ गते राति विवादका क्रममा ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङलाई हत्या गरेका हुन्। उनले बाँसको लाठि र हँसियाको पछाडिको भाग प्रयोग गरेर आक्रमण गरेका थिए।

हत्या पश्चात सुमित्राको शवलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडिएको प्रहरीले जनाएको छ। केही दिनपछि दुर्गन्ध आउन थालेपछि छिमेकी र माइती पक्षले शंका व्यक्त गरी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि भदौ १६ गते राति शव फेला पारी उत्खनन गरिएको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको हो।

घटनास्थलबाट बाँसको लाठि, हँसिया, गैँची, बेल्चा, कोदालो र मदिराको बोतल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका गुरुङलाई ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

अनुसन्धान क्रममा किरण र सुमित्रा दुवैको दोस्रो विवाह भएको र उनीहरूको ९ वर्षीया एक छोरी रहेको खुलेको छ। घटना घट्ने राति किरण मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया