काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि खोप पठाउन थालेको छ ।
मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ । खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्याग पनि पठाइएको छ ।
यसअघि रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ । रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित हुँदा हैजासहित पानीजन्य रोगको सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा रोग रोकथामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।