जेनजी आन्दोलन राजनीतिक शैलीको अस्वीकृति, जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने

nepaltext

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’को संज्ञा दिएका छन् ।

जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट उत्पन्न निराशाविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका छन् ।

उनले परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताले ज्यान गुमाउनुपरेको घटनालाई आफूहरूका लागि अत्यन्त पीडादायी क्षण भएको उल्लेख गरेका छन् । भदौ २३ र २४ गते भएको घटनाले फेरि कहिल्यै निरन्तरता नपाओस् र परिवर्तनका लागि कुनै पनि आमाले आफ्ना सन्तान गुमाउन नपरोस् भन्ने कामना पनि उनले गरेका छन् ।

नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कर्तव्य पालनका क्रममा मृत्यु भएका प्रहरीप्रति पनि सम्मान व्यक्त गरेका छन् । आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा आएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताए ।

लामिछानेले जेनजी युवाले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपामाथि आएको दाबी गरेका छन् । आन्दोलनले देखाएको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने उनको भनाइ छ ।

उनले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा रास्वपाका कामकारबाहीप्रति निरन्तर रचनात्मक खबरदारी तथा निर्मम समीक्षा गर्न आग्रह गरेका छन् । तर, सामूहिक निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले अपिल गरेका छन् ।

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकजुट हुनुपर्ने भन्दै लामिछानेले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया