काठमाडौँ । लगातारको बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, विस्पानीमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ। प्रहरीले १० टनभन्दा कम क्षमताका मालवाहक सवारीसाधनलाई निश्चित समयमा सञ्चालन गर्न दिने जनाएको छ। सडकको अवस्था हेरी अन्य सवारीसाधनलाई समेत सञ्चालन गर्न सकिने बताइएको छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका अन्य मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा प्रभावित रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। उक्त सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बेलकोटगढी नगरपालिका क्षेत्रमा पनि बाढीका कारण सडक प्रभावित भएको प्रहरीले जनाएको छ।
यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पनि पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध छ।
बेनीघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोला क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बाढी तथा पहिरोको जोखिम कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले तोकेको सुरक्षा व्यवस्थाको पालना गर्न आग्रह गरेको छ।