एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने

nepaltext

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको ओमानले फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्न लागेको हो।

फाइनल प्रवेशका लागि दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रँदैछन्। नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

नेपालले समूह चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै समूहको शीर्ष स्थान हासिल गरेको थियो। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले तथा तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला भेटलाई हेर्दा नेपाल ओमानमाथि केही हदसम्म हाबी देखिन्छ। दुई टोलीबीच भएका पछिल्ला पाँच ओडीआई खेलमध्ये नेपालले तीन खेल जितेको छ भने ओमानले दुई खेलमा सफलता हात पारेको छ।

अब सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्ने लक्ष्यमा दुवै टोली रहेका छन्।

प्रतिक्रिया