नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता

nepaltext

काठमाडौं । भदौ १० गते नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको बाढीअघि हिमनदी भत्किएको हिमाली क्षेत्रमा असाधारण रूपमा उच्च तापक्रम रहेको मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषणले देखाएको छ ।

अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० गतेसम्म करिब ५ हजार २०० मिटर उचाइमा रहेको उक्त हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ । लामो समयको तथ्याङ्कसँग तुलना गर्दा यो तापक्रम असाधारण रूपमा उच्च हो । विगत ५५ वर्षभन्दा लामो अवधिमा सोही समयमा उक्त क्षेत्रमा तापक्रम चार डिग्री सेल्सियसभन्दा माथि पुगेको रेकर्ड छैन ।

यद्यपि, असामान्य रूपमा बढेको तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष कारण–सम्बन्ध भने अहिलेसम्म पुष्टि भइसकेको छैन ।

क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरी उक्त क्षेत्रको तापक्रम पुनर्निर्माण गर्नुभएको हो । उहाँका अनुसार २०औँ शताब्दीको मध्ययता भदौ ५ देखि १० गतेसम्म हिमनदी भत्किएको क्षेत्रमा औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले वृद्धि भएको देखिन्छ ।

जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गरेर हेर्दा यस्तै असामान्य तापक्रम केही हजार वर्षमा एकपटक मात्र देखिन सक्ने प्रकृतिको रहेको रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गर्नुभएको छ ।

त्यस्तै, युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाअन्तर्गत सन् १९७० यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि घटना भएको समय लाङटाङ क्षेत्रमा रेकर्ड भएको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ ।

सम्भावित ‘टिपिङ पोइन्ट’

फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार असाधारण गर्मीले पर्माफ्रस्ट पगाल्नुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई बढावा दिएको हुन सक्ने सम्भावना छ ।

पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’ले जस्तै चट्टानी संरचनालाई बाँधेर राख्ने भएकाले यसको पग्लाइले पहाडी संरचनालाई थप अस्थिर बनाउन सक्छ ।

घटनाअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाउने उपग्रह तस्बिरसमेत प्राप्त भएका छन् । फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार हिउँ पग्लिएर बनेको पानी पहाडका चिरामा प्रवेश गर्दा पहिरो वा ढलान भत्किने अवस्था सहज बनेको हुन सक्छ ।

तर विज्ञहरूले उच्च तापक्रमकै कारण हिमनदी वा पहाड भत्किएको निष्कर्षमा पुग्न अहिले नै हतार गर्न नहुने बताएका छन् ।

फ्रान्सको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकले तापक्रम वृद्धि र पहाड भत्किनुलाई सीधै एउटै घटनाका रूपमा बुझ्न नमिल्ने बताउनुभएको छ । उहाँका अनुसार तापक्रमले ट्रिगरको भूमिका खेलेको भए पनि त्यसको प्रभाव चट्टान पतनको निर्णायक बिन्दुमा पुगेपछि मात्र देखिन सक्ने सम्भावना हुन्छ ।

अहिले अनुसन्धानकर्ताहरूले हिमनदी भत्किनुअघिका वर्षहरूमा पहाडमा देखिएका साना गतिविधि र तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् ।

रोहडेका अनुसार पग्लिएको पानी र पर्माफ्रस्टका कारण चट्टानका चिरा वा ‘फ्र्याक्चर प्लेन’ वरपरको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाण भेटिएमा त्यसले हिमनदी भत्किनुमा जलवायु परिवर्तनको भूमिकालाई थप बलियो रूपमा पुष्टि गर्न सक्नेछ ।

उहाँको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतका जलवायु मोडेल तथा भत्किएको हिमनदीबाट ९ देखि १४० किलोमिटर दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रबाट प्राप्त तथ्याङ्क प्रयोग गरिएको थियो ।

प्रतिक्रिया