काठमाडौं । नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिज सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै आजदेखि पैदलयात्रुका लागि आवतजावत खुला गरिएको छ भने शुक्रबारदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने जनाइएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको थियो। यातायात आवागमन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि एक्रो ब्रिज जडानको काम सुरु गरेको थियो।
सेनाको टोलीले निरन्तर खटिएर काम गरेपछि बुधबार नै पुल जडानको कार्य सम्पन्न भएको हो। छोटो समयमै पुल निर्माण तथा जडान सम्पन्न भएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।
यसअघि पक्की पुल बाढीले बगाएपछि देवीघाट क्षेत्र हुँदै हुने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। नयाँ एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पुनः सहज हुने विश्वास गरिएको छ।