म्याग्दी । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाअन्तर्गत धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ जोडिने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ।
उनका अनुसार छहरीको अडिटदेखि खाम्लास्थित बाँधसम्म निर्माण गर्नुपर्ने ३ हजार २८३ दशमलव ३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सकिएको छ। बाँकी सुरुङ निर्माण पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।
आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यलाई तीव्रता दिइएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख केसीले जानकारी दिए।
सिभिल निर्माणको जिम्मा पाएको लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले विसं २०८० चैत १९ गते सम्झौता गरी २०८१ वैशाख २८ गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो। उक्त कम्पनीले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माणको काम सुरु गरेको हो।
हाल बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई समेत तीव्रता दिइएको छ। यद्यपि, बर्खायाममा निर्माणस्थलतर्फ जाने बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ।
आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकबाट ऋण, प्रवर्द्धक कम्पनीको लगानी र सर्वसाधारणको शेयरमार्फत गरी ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइनेछ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।
भारवाङदेखि १ दशमलव ५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेसनमा आयोजनाबाट उत्पादित विद्युत् जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा आपूर्ति हुने बताइएको छ।
रन अफ द रिभर प्रकृतिको यस आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट पानीलाई विद्युत्गृहसम्म पुर्याउन ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।
ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता रहेको छ। मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढिरहेको आयोजनाले जनाएको छ।
अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध रहेको छ।