जलविद्युत कम्पनीहरूको क्षति विवरण बुझाउन नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

श्याम खतिवडा

नेपाल धितोपत्र बोर्डले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ। विशेष गरी त्रिशूली र भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै बोर्डले धितोपत्र कारोबार, बजार पारदर्शिता र लगानीकर्ताको हित संरक्षणका लागि सतर्कता अपनाउन यो कदम चालेको हो।

धितोपत्रसम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) बमोजिम बोर्डले नेप्सेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित कम्पनीहरूको विस्तृत सूची तयार गरी पेस गर्न भनेको छ। साथै, ती कम्पनीहरूको आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा समग्र व्यवसायमा परेको असरको यथार्थ विवरण सङ्कलन गरेर बोर्डमा बुझाउन पनि निर्देशन दिइएको छ।

विपद्का कारण जलविद्युत क्षेत्रका उत्पादन, भौतिक संरचना र प्रसारण लाइनमा पुगेको क्षतिको यकिन गरी त्यसले पार्ने वित्तीय प्रभावबारे बजारलाई स्पष्ट गराउन बोर्डले यो पहल गरेको हो। यसका साथै, जोखिममा रहेका तथा प्रभावित कम्पनीहरूको धितोपत्र कारोबारमाथि विशेष निगरानी राख्न पनि नेप्सेलाई ताकेता गरिएको छ।

प्रतिक्रिया