पोखरा । फेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका एक युवकलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब ३० फिट गहिराइबाट जीवितै उद्धार गरेको छ।
उदयपुर घर भई पोखरा घुम्न आएका करिब २१ वर्षीय आयुस तामाङ कायाकिङ गर्ने क्रममा असन्तुलित भएर फेवातालमा डुबेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमान्डमा गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो। टोलीले तालको करिब ३० फिट गहिराइमा पुगेका तामाङलाई सकुशल बाहिर निकालेको हो।
उद्धारपछि तामाङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
तामाङको स्वास्थ्य अवस्था भने गम्भीर रहेको जनाइएको छ।
२० भदौ २०८३, शनिवार ०४:४९ मा प्रकाशित