नवलपरासीको गैँडाकोटमा २४ वर्षीया युवती कोठाभित्रै मृत फेला

श्याम खतिवडा

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती आफ्नै कोठाभित्र विभत्स र शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। गुल्मीको मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोटमा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ मृतावस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृत फेला परेकी हुन्। युवतीसँग लामो समयदेखि सम्पर्क हुन नसकेपछि उनका दाजुले घरबेटीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो।

स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत भेटिएकी थिइन्। घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको र शरीरमा चोटपटक समेत देखिएको प्रहरीले जनाएको छ।

मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ। उनी हाल उक्त डेरामा एक्लै बस्दै आएकी थिइन्। गत फागुन १० गते गुल्मीबाट गैँडाकोट फर्किएपछि उनी माइती पक्षसँग सम्पर्कमा आएकी थिइन्।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान सुरु गरेको छ। "घटनाको विस्तृत विवरण र मृत्युको कारण पोष्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र खुल्नेछ," प्रहरीले बताएको छ।

प्रतिक्रिया