ग्लोबल पासपोर्ट इन्डेक्स : स्वीडेन शीर्ष, नेपाली पासपोर्ट १६४औँ स्थानमा

nepaltext

काठमाडौं । ग्लोबल सिटिजन सोलुसन्सले सार्वजनिक गरेको ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ मा स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा पहिलो स्थानमा परेको छ। शीर्ष १० मध्ये नौ स्थान युरोपेली देशले ओगटेका छन् भने नेपाल गत वर्षको तुलनामा दुई स्थान सुधार गर्दै १६४औँ स्थानमा पुगेको छ।

परम्परागत रूपमा बिनाभिसा यात्रालाई मात्र आधार नमान्दै यस इन्डेक्समा १४ सूचकमार्फत पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ। भ्रमण सहजतालाई ५० प्रतिशत तथा लगानीका अवसर र जीवनस्तरलाई २५–२५ प्रतिशत भार दिइएको छ। मूल्यांकनमा विश्व बैंक, विश्व आर्थिक मञ्च र दिगो विकास प्रतिवेदनलगायत अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक प्रयोग गरिएको छ।

प्रतिवेदनअनुसार नेपाली पासपोर्टधारीले १० देशमा बिनाभिसा वा आगमनमा भिसा सुविधा प्राप्त गर्न सक्छन्। भारत, प्यालेस्टाइन, डोमिनिका, माइक्रोनेसिया, हाइटी, फिलिपिन्स, पाकिस्तान र सिंगापुर तीमध्ये प्रमुख गन्तव्य हुन्। यद्यपि अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीन र जापानसहित करिब १०७ गन्तव्यमा यात्रा गर्न नेपाली नागरिकले पूर्वभिसा लिनुपर्ने हुन्छ।

दक्षिण एसियाली देशमध्ये चीन १०४औँ, भारत १२५औँ, भुटान १३२औँ, माल्दिभ्स १०७औँ, श्रीलंका १४१औँ, नेपाल १६४औँ, पाकिस्तान १८८औँ र अफगानिस्तान १९७औँ स्थानमा रहेका छन्। अफगानिस्तान यस वर्ष पनि सूचीको अन्तिम स्थानमा परेको छ।

प्रतिक्रिया