१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा

nepaltext

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को निकै रोमाञ्चक र तनावपूर्ण खेलमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलको अन्तिम समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

खेलको पहिलो हाफ इङ्गल्यान्डको पक्षमा रह्यो । ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै (३८औँ मिनेटमा) कप्तान ह्यारी केनको पासमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढेको थियो । तर, ४२औँ मिनेटमा मेक्सिकोका जे. क्विनोनेसले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५४औँ मिनेटमा इङ्गल्यान्डका जे. क्वान्साले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा झरे पनि दबाबमा नआएको इङ्गल्यान्डले ६०औँ मिनेटमा पेनाल्टी पायो, जसलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याए ।

खेलको ६९औँ मिनेटमा मेक्सिकोले पनि पेनाल्टीको अवसर पायो । आर. जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को रोमाञ्चक मोडमा ल्याए । खेलको अन्तिम समयतिर मेक्सिकोले बराबरी गर्ने भरमग्दुर प्रयास गरे पनि इङ्गल्यान्डको रक्षापंक्तिले त्यसलाई असफल तुल्याउँदै जित सुनिश्चित गर्‍यो ।

दुई पेनाल्टी र एक रातोकार्डले यो खेल निकै उतारचढावपूर्ण बनेको थियो । अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । नर्वे गएराति ब्राजिललाई २–१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो ।

प्रतिक्रिया