काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक निर्वाचन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचनसम्बन्धी काममा सहजीकरण गर्न वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी दिएका हुन्।
समितिले जारी गरेको सूचनाअनुसार सम्बन्धित प्रदेशमा निर्वाचन प्रक्रियासँग सम्बन्धित आवश्यक राय, परामर्श तथा समन्वयका लागि संयोजकहरू तोकिएका हुन्।
प्रदेशअनुसार जिम्मेवारी पाउनेहरूमा कोशी प्रदेशमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेस प्रदेशमा वरिष्ठ अधिवक्ता बलराम सुवेदी, बागमती प्रदेशमा वरिष्ठ अधिवक्ता कृष्ण अर्याल, गण्डकी प्रदेशमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, लुम्बिनी प्रदेशमा वरिष्ठ अधिवक्ता दीपककुमार रेग्मी, कर्णाली प्रदेशमा वरिष्ठ अधिवक्ता उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा वरिष्ठ अधिवक्ता गंगाराम पाध्याय रहेका छन्।
यसैबीच, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत तथा पार्टीका स्थानीय तहका निकायसँग आवश्यक समन्वय गरी अधिवेशन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ।