काठमाडौँ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो ।
त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ ।
कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको कार्यालयले जनाएको छ । चालु आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको कार्यालयको अनुमान छ ।
ती मध्ये विद्युत् तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गीकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०.२७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक देखिन्छ । त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यासको ६.८७ प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै खानी तथा उत्खननको २.२३ र थोक तथा खुद्रा व्यापारको २.०२ प्रतिशत रहेको छ ।