मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्त: १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

nepaltext

काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यस पटक किसानले मलको अभाव भने झेल्नुपरेको छैन ।

असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिको पुष्टि गरेको बताइएको छ ।

यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्यांकअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।

“विगतका वर्षहरूमा धान रोपाइँको मुख्य याममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो”, “प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल भन्छिन्, “तर यस पटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन् ।”

यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायहरूका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ । कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पुर्‍याएर बजारको मागलाई सन्तुलित बनाएको छ ।

रोपाइँको समयमा मलको आवश्यकताका बारेमा जानकार रहेको सरकारी संयन्त्रले माग अनुसारकै मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो । असारको सुरुमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर उच्च मध्येको एक चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ बर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो ।

तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकै दिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरू बताउँछन् ।

प्रेस तथा अनुसन्धान विज्ञ दाहाल भन्छिन्, “असार १५ गते एकै दिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जबाफदेहिताको बलियो प्रमाण हो । आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेकै छ ।”

समयमै बजेट सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला–जिल्लामा रहेका डिपोहरूको निरन्तर निगरानीका कारण यसवर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको छ ।

सरकारको योजनाबद्ध यो र यस्तै अन्य कदम तथा अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग र समन्वयका लागि उत्साह कायम राख्ने देखिएको पनि बताइएको छ ।

प्रतिक्रिया