काठमाडौं । सोमबार ८.२४ अंकले घटेको नेप्से परिसूचक मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक, फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंकले घटेको छ।
मंगलबार कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटकको कारोबारमा बिक्रीविक्री भएको छ। सोमबारको तुलनामा कारोबार रकम घटेको देखिएको छ, जब ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
यस दिन माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर पहिलो दिन नै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९.४० रुपैयाँमा पुगेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ, जसको कारोबार रकम २७ करोड रुपैयाँबराबर छ। त्यस्तै, राधी विद्युत कम्पनीको करिब २२.५ करोड रुपैयाँ र यूनियन हाइड्रोपावरको १८.५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। सबैभन्दा बढी घटेको वित्त उपसमूह हो, जसको परिसूचक २.२१ प्रतिशतले घटेको छ। यसैगरी, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।