काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी तथा समयअनुसार सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका अन्य मुख्य सडकखण्डमा समेत सवारी आवागमन प्रभावित भएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–स्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। त्यस्तै, बेत्रावती नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिका–१० ज्वाङखोलामा भने सडक एकतर्फी सञ्चालन भइरहेको छ। थाक्रे गाउँपालिका–२ बाहकिलोमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सोही क्षेत्रमा अर्को सडकखण्ड भने पूर्ण रूपमा अवरुद्ध छ।
चितवनको बेनीघाट रोराङ–१० ज्वाङखोला क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
काभ्रेमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी सञ्चालनको व्यवस्था परिस्थिति हेरेर गरिएको छ। खुर्कोट–नेपालथोक–काठमाडौँतर्फ जाने सवारी साधनलाई सडकको अवस्था र जोखिम मूल्याङ्कनका आधारमा सञ्चालन गरिने जनाइएको छ।
यता, कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–मुगुम कार्मारोङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुने क्रम जारी रहेकाले सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।