काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्यतया बदली रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। यस्तै, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर वर्षाको सम्भावना
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।
राति पनि वर्षा जारी रहने
आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
मधेस तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।