भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

nepaltext

नारायणगढ (चितवन) । चितवनमा बाढीका कारण फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डिएनए नमूना सङ्कलनलाई प्रहरीले तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा ३६३ वटा शव फेला परेका छन् । तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन् ।

फेला परेका शवमध्ये हालसम्म १४ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए ।

पहिचान हुन नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको छ । शव व्यवस्थापनको काम गत १३ भदौदेखि सुरु गरिएको थियो ।

व्यवस्थापन गरिएका सबै शवबाट भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न सकिने गरी डिएनए नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । हराइरहेका व्यक्तिको पहिचान गर्न प्रहरीले उनीहरूका आफन्तको डिएनए नमूना सङ्कलनलाई प्राथमिकता दिएको छ ।

हालसम्म ७५ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको एसपी पौडेलले बताउनुभयो । सङ्कलन गरिएका नमुनामा भारतीय नागरिकका आफन्तको डिएनए नमूना समेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया