देउवाको दाबी– सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसकेको छ

nepaltext

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। उनले आफूहरूलाई पार्टीको आधिकारिकता नदिन सभापति गगन थापा समूहले सर्वोच्च अदालतमा दबाब दिइरहेको आरोपसमेत लगाए।

देउवाले निर्वाचन आयोगका प्रमुखले आफूलाई ज्यानको खतरा रहेको बताएको प्रसंग उल्लेख गर्दै आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए। चुनाव सम्पन्न भइसकेपछि के गर्ने भन्ने प्रश्न उठेपछि आफूहरू पुनरावलोकनमा गएको र सर्वोच्चले निस्सा दिएको उनको भनाइ थियो।

‘हामीले पुनरावलोकनमा गयौँ। पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने।

जतिसुकै षड्यन्त्र भए पनि अन्ततः आफूहरूले पार्टीको आधिकारिकता पाउने उनको दाबी छ। देउवाले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिरसमेत गरे।

प्रतिक्रिया