काठमाडौं ।मेट लाइफले जनरल म्यानेजर निर्मल काजी श्रेष्ठको नेतृत्वमा एजेन्सी टोलीमार्फत देशभरका विभिन्न जिल्लामा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत करिब ८०० भन्दा बढी नागरिक, व्यवसायी तथा सामुदायिक प्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमा बीमाको महत्व, उद्देश्य र उपयोगिताबारे जानकारी गराइएको छ। १३ वटा फरक–फरक शहरमा सञ्चालन भइरहेको यो पहलले ग्रामीण परिवारहरूको भविष्य सुरक्षित बनाउने र आत्मनिर्भर भएर अघि बढ्न प्रेरणा दिने लक्ष्य लिएको छ।
पूर्वको इलामदेखि पश्चिमको महेन्द्रनगरसम्म आयोजना गरिएका कार्यक्रममार्फत स्थानीय समुदायले बीमाको वास्तविक अर्थ, आवश्यकताको तर्क र दीर्घकालीन फाइदाबारे बुझ्ने अवसर पाएका छन्। मेटलाइफ नेपालले स्थानीयसँग खुला संवाद गर्दै बीमालाई खर्चको रूपमा बुझिने भ्रम, गलत धारणा र अविश्वास हटाउँदै यसलाई ‘जीवन सुरक्षा उपकरण’ का रूपमा स्थापित गर्ने प्रयास गरेको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले आफ्नै जीवनसँग जोडिएका जोखिम, परिवारले सामना गर्न सक्ने सम्भावित चुनौतीहरू र बीमाले कसरी आर्थिक तथा मानसिक सहारा दिन सक्छ भन्ने विषयमा वास्तविक उदाहरणहरूसहित जानकारी लिएका छन्। अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएका यी कार्यक्रमहरूले सहभागीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
मेटलाइफको ‘कस्टमर फर्स्ट’ नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियानले बीमालाई भविष्यको अनिश्चिततासँग जुध्ने सुरक्षा कवच, बालबालिकाको शिक्षादेखि स्वास्थ्य उपचारसम्मका सपना जोगाउने आर्थिक आधार र आपत्–विपत् सामना गर्ने शक्तिका रूपमा पुनःपरिभाषित गर्न खोजेको छ। दीर्घकालीन बीमा संस्कृतिको विकास, वित्तीय स्थायित्वको वृद्धि र देशभरका परिवारलाई सुरक्षित भविष्यतर्फ डोर्याउने दिशामा यो कार्यक्रमलाई एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।