मकवानपुरमा कुखुरा बोकेको बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु दुई घाइते

श्याम खतिवडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक कुखुरा बोकेको बोलेरो पिकअप दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सर्लाहीबाट हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको बोलेरो पिकअप बिहीबार बिहान करिब १ बजे ब्रेक फेल भई सडकबाट करिब सात मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डल, सोही ठाउँका १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा सहचालक रोहन मण्डलको बिहीबार बिहानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई घाइते पासवान र साहको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बोलेरोमा लोड गरिएका करिब ५ सय कुखुरामध्ये ३ सय वटा कुखुरा दुर्घटनामा परेर मरेका छन् ।

प्रतिक्रिया