चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशासनबाट लिएको उक्त समूह चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने प्रयास गर्दा लछारपछार भएको हो। चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीसकोठीसम्म र्याली गर्न मात्र अनुमति दिइएको थियो, तर बाटो नै अवरुद्ध गरेर सभा गर्न खोजेपछि प्रहरीले रोक्दा स्थिति तनावग्रस्त बनेको उनले बताए। प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार करिब पाँचदेखि सात सयको हाराहारीमा सहभागी रहेको समूहले सडक अवरुद्ध गरेपछि तितरबितर पार्नुपरेको हो। उनले घटनाका क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी पनि दिए। प्रहरीका अनुसार लछारपछार भए पनि कुनै मानवीय क्षति भने भएको छैन।