इरानमा फेरि चर्कियो विद्यार्थी आन्दोलन: विश्वविद्यालयहरूमा सुरक्षाकर्मीसँग झडप

श्याम खतिवडा

तेहरान (एजेन्सी) । इरानमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन्। राजधानी तेहरानसहित देशका विभिन्न प्रमुख विश्वविद्यालयहरूमा सरकार विरोधी प्रदर्शन सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्वविद्यालयहरूमा विरोधको लहर तेहरानस्थित प्रसिद्ध 'शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी' परिसरमा ठूलो संख्यामा विद्यार्थीहरूले मार्च गरिरहेका भिडिओ र तस्बिरहरू सार्वजनिक भएका छन्। त्यस्तै, तेहरानका अन्य विश्वविद्यालय र उत्तरपूर्वी क्षेत्रका शिक्षण संस्थाहरूमा पनि विरोध सभा तथा धर्नाका कार्यक्रमहरू आयोजना गरिएका छन्।

आन्दोलन ब्युँतिनुको कारण गत जनवरीमा भएको प्रदर्शनका क्रममा मारिएका विद्यार्थीहरूको सम्झनामा आयोजना गरिएका संस्मरण सभाहरूमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि आन्दोलनले उग्र रूप लिएको हो। बीबीसीका अनुसार मारिएका साथीहरूको सम्मानमा भेला भएका विद्यार्थीमाथि सरकारी पक्षबाट अवरोध र धरपकड भएपछि झडपका स्थिति सिर्जना भएका छन्।

यसैबीच, केही विद्यार्थीहरूलाई 'अनुशासन' को नाममा निलम्बन गरिएपछि विद्यार्थीहरूको आक्रोश झन् चर्किएको रोयटर्सले उल्लेख गरेको छ। गत जनवरीको ठूलो आन्दोलन मत्थर भएयताकै यो सबैभन्दा सशक्त प्रदर्शन भएको बताइएको छ।

बाह्य दबाब र अमेरिकी सैन्य उपस्थिति इरानले आन्तरिक विद्रोह मात्र नभई बाह्य सैन्य दबाबको पनि सामना गरिरहेको छ। अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई लिएर आफ्नो अडान कडा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताका लागि इरानलाई १० देखि १५ दिनको समय (अल्टिमेटम) दिँदै कूटनीतिक प्रयास सफल नभए 'सैन्य कारबाही' अनिवार्य विकल्प हुने चेतावनी दिनुभएको छ।

इरान वरपर अमेरिकाले आफ्नो सैन्य उपस्थिति समेत बढाएको छ, जसले गर्दा पश्चिम एसियामा युद्धको खतरा र तनाव थप बढेको देखिन्छ।

प्रतिक्रिया