काठमाडौँ । मेडिकल व्यवसायी एवं 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई हिरासतमा राख्न अनुमति दिएका हुन्।
सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले 'सार्वजनिक शान्ति विरुद्धको कसुर' र 'अफवाह फैलाउन नपाउने कसुर'मा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रसाईंले सरकारसँगको सम्झौता पूरा नभए अनिश्चितकालीन बन्द गराउने र आसन्न निर्वाचन हुन नदिने जस्ता उत्तेजक अभिव्यक्ति दिँदै आएकाले उनलाई नियन्त्रणमा लिइएको हो। "जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर उहाँमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ," एसपी भट्टराईले जानकारी दिए।
यसअघि पनि प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन्। माघ २३ गते पक्राउ परेका उनलाई निर्वाचनबारे दिएको अभिव्यक्तिका सम्बन्धमा साइबर ब्यूरोले बयान लिएर हाजिर जमानीमा छाडेको थियो। त्यस्तै, माघ ५ गते पनि उनी पोखराबाट पक्राउ परेर छुटेका थिए।
प्रसाईंका पछिल्ला गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकाल्दै प्रहरीले यसपटक थुनामै राखेर कानुनी प्रक्रिया अघि बढाएको हो।