काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर करिब ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति खटाइएको छ । सोहीअनुसार आजैदेखि देशभरका विमानस्थल तथा कारागार कार्यालयहरूको सुरक्षा व्यवस्थापन नेपाली सेनाले सम्हाल्ने भएको छ । ती स्थानमा नियमित रूपमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विशेष प्रकृतिका ड्युटी भने निरन्तर जारी रहने र बाँकी सम्पूर्ण सुरक्षा व्यवस्थापन सेनाले गर्ने प्रवक्ता बस्नेतले जानकारी दिए । यसैबीच, देशभरका प्रमुख सडकहरूमा पनि आजैदेखि सेनाले गस्ती सुरु गरेको छ । विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती थालिएको उनले बताए । मतदान केन्द्र तथा मतगणनास्थलको सुरक्षाका लागि भने केही समयपछि मात्रै सेना परिचालन हुने बताउँदै उनले ती स्थानमा नेपाल प्रहरी पहिलो घेरामा र सशस्त्र प्रहरी दोस्रो घेरामा तैनाथ हुने तथा त्यसपछि मात्रै सेनाले सुरक्षा भूमिका निर्वाह गर्ने स्पष्ट पारे । मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि नेपाली सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए ।