एनपीएल इलिमिनेटर: लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज आज भिड्दै

श्याम खतिवडा

काठमाडौं । पहिलोपटक एनपीएलको प्लेअफमा पुगेका दुई टिम, लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज, आज इलिमिनेटरमा भिड्दैछन्। पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनु पर्नेछ। अघिल्लो सिजन लुम्बिनीले खराब प्रदर्शन गर्दै अंकतालिकाको पुछारमा रहेर निराश पारेको थियो भने काठमाडौं पाचौं स्थानमा रहेर प्लेअफमा जान चुक्यो। यसपालि दुवै टिमले प्लेअफमा स्थान बनाएर उपाधि होडमा रहेका छन्।

लुम्बिनी लायन्सको नेतृत्व नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले गर्दैछन्। गत सिजनमा उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरे पनि समग्र टिमको प्रदर्शन कमजोर थियो। यसपालि पनि लुम्बिनीको सबैभन्दा बढी आशा कप्तान पौडेलमाथि टिकेको छ। यद्यपि टिम पहिलेभन्दा बढी सन्तुलित देखिन्छ। अघिल्लो सिजन लुम्बिनीका विदेशी खेलाडीहरूले निराश बनाएका थिए भने यसपटक विदेशी खेलाडीहरूको सेट पूर्ण रूपमा परिवर्तन गरिएको छ। टम मुर्स, साद बिन जाफर, रेमन सिमोन्ड्स्, उन्मुक्त चन्द र बेन कटिङमध्ये कसैले पनि दोस्रो सिजनमा निरन्तरता पाएको छैन।

यसपटक टिममा निरोशन डिकवेला, डि आर्सी सर्ट, गुलबदिन नैब, जोहानस जोनाथन स्मिट र रुबेल ट्रम्पलम्यान जस्ता खेलाडी छन्। विदेशी खेलाडीहरूको सेट यसपालि बलियो देखिएको छ र प्रदर्शन पनि त्यसै अनुसार रहेको छ। स्वदेशीतर्फ रोहितसँगै सन्दीप जोरा, दिलिप नाथ, सुमित महर्जन, शेर मल्ल र तिलक भण्डारी रहेका छन्। विशेषगरी शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

लुम्बिनीले पहिलो म्याचमा चितवनलाई हराउँदै सुखद सुरुवात गरेको थियो, तर त्यसपछि लगातार तीन म्याच हारेर कमजोर स्थितिमा पुगेको थियो। त्यसपछि फेरि लगातार तीन म्याच जित्दै प्लेअफमा स्थान बनाएको हो। समूह चरणमा काठमाण्डुसँगको भिडन्तमा लुम्बिनीले २२ रनको हार व्यहोरेको थियो।

काठमाडौंको टिम कागजी रूपमा कमजोर देखिए पनि रहेका खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। पहिलो म्याचमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौंले उत्कृष्ट सुरुवात गर्यो। त्यसपछि दुई म्याचमा सुदुरपश्चिम र बिराटनगरसँग लगातार हार व्यहोर्यो। अन्तिम चार म्याचमा लगातार जित हात पार्दै काठमाडौं प्लेअफमा पुगेको हो। रनरेटका आधारमा बिराटनगर उछिनुको कारण काठमाडौं तेस्रो स्थानमा रहेर इलिमिनेटर खेल्न बाध्य भयो।

काठमाडौंका कप्तान करण केसीले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन्। सात म्याचमा १२ विकेट लिएर उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्। उनले कुनै पनि म्याचमा विकेटविहिन रहेनन्। काठमाण्डुका स्पिनर सहाब आलमले पनि समान १२ विकेट लिए। ब्याटिङतर्फ पछिल्लो म्याचमा भिम सार्कीको आक्रामक प्रदर्शनले टोलीको मनोबल बढाएको छ। काठमाण्डुका विदेशी खेलाडीहरूको प्रदर्शन औसत रहेको छ।

आजको म्याचमा विजेताले फाइनलमा स्थान पाउने छैन। तर हार्ने टिम प्रतियोगिताबाट बाहिरिनेछ। जित्ने टोली भोली विराटनगरविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया