मधेश प्रदेशसभा बैठकः मुख्यमन्त्री यादव अनुपस्थित, विश्वासको मतका लागि बैठक अस्थायी रूपमा स्थगित
श्याम खतिवडा
१८ मङ्सिर २०८२, बुधबार
मधेस प्रदेशसभामा आज मुख्यमन्त्री सरोज कुमार यादवको विश्वासको मत लिने कार्यसूची तय गरिएको थियो। तर, मुख्यमन्त्री यादव स्वयं अनुपस्थित रहेका कारण उपसभामुख बबिता कुमारी राउत इसरले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरिन्। सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। हिजो मंगलबार पत्रकार सम्मेलनमार्फत यादवले ढिला पत्र प्राप्त भएकोले आज बिहान विश्वासको मत लिने जानकारी दिएका थिए। बिहान ८ः३० बजे बस्ने भनिएको बैठक १०ः३० बजे सुरु भएको थियो, तर मुख्यमन्त्री बैठकमा अनुपस्थित नै रहे।