टस जितेर लुम्बिनी विरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डौँ

श्याम खतिवडा

२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन्।

काठमान्डुले आजको खेलका लागि लिग चरणमा खेलेको टोलीमै निरन्तरता दिएको छ भने लुम्बिनीले एक परिवर्तन गरेको छ। सुमित महर्जनको स्थानमा दिनेश अधिकारी खेलमा सहभागी भएका छन्।

यो इलिमिनेटर खेलबाट मात्र एक टोलीले उपाधि यात्रा जारी राख्न सक्छ। नकआउट खेल भएकाले पराजित हुने टिमको यात्रा यहीँ समाप्त हुनेछ। विजयी हुने टोलीले फाइनलमा स्थान त बनाउने छैन, तर फाइनल पुग्नका लागि अर्को एक क्‍वालिफायर खेल्नुपर्ने हुन्छ।

पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब यस इलिमिनेटर खेलको विजेताले भोलि (बिहीबार) विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ।

काठमान्डुले लुम्बिनीमाथि अहिलेसम्म खेलेका दुवै खेल जितिसकेको छ। काठमान्डुले आफ्नो दबदबा कायम राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउन खोज्नेछ।

प्रतिक्रिया