नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाए वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कुनै पनि कर नलगाउने स्पष्ट घोषणा गरेको छ। पार्टी सभापति गगन थापाले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहस कार्यक्रममार्फत यो घोषणा सार्वजनिक गर्दै अहिलेको कर संरचनाले मध्यम वर्ग र उत्पादनशील क्षेत्रलाई दबाबमा पारेको बताएका छन्। कांग्रेसको आगामी चुनावी घोषणापत्र अर्थात् प्रतिज्ञा पत्रमा समेटिएको यो योजनाअनुसार व्यक्तिगत आयकरको अधिकतम दर हालको ३९ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झारिनेछ भने संस्थागत करको सीमा पनि २० प्रतिशतमा सीमित गरिनेछ।
सभापति थापाका अनुसार कांग्रेसले ‘उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र’लाई मूल मन्त्र बनाउँदै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’का रूपमा अघि बढाउने संकल्प गरेको छ। यही अवधिमा मुलुकको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ। उनले नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउन भाषणभन्दा पनि व्यवहारिक नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसकै एक हिस्साका रूपमा १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाइने नीति ल्याइएको स्पष्ट पारे।
थापाले निजी क्षेत्रलाई केही सीमित अनुहारमा मात्र केन्द्रित गरेर हेर्ने प्रवृत्तिको आलोचना गर्दै भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामेरा र मोबाइल बोकेका युट्युबरहरू समेत निजी क्षेत्रकै अभिन्न हिस्सा भएको धारणा राखे। कांग्रेस नेतृत्वको सरकार बनेको खण्डमा तीन महिनाभित्रै नीतिगत सुधारका ठोस काम सुरू गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले आर्थिक पुनरुत्थानको आधार निजी क्षेत्रसँगको सहकार्य र विश्वासबाट मात्रै सम्भव हुने बताए।