रसुवा। नन्दप्रसाद–जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशी प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
भोटेकोशीमा आएको बाढी तथा प्रलयमा परी जनधन गुमाएका कालिका गाउँपालिका–१, राम्चेका ७२ परिवारलाई फाउन्डेसन र इनास यूकेको सहकार्यमा राहत सामग्री प्रदान गरिएको हो।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनको तर्फबाट जुटाइएको राहत सामग्री कालिका गाउँपालिका–१ का वडाध्यक्ष दावा तामाङलाई हस्तान्तरण ग। राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त तथा प्रतिनिधिहरू उपस्थित थिए।
राहत सामग्री बुझ्दै वडाध्यक्ष तामाङले दुःख र पीडाको समयमा सहयोगका लागि आइपुगेकोमा नन्दप्रसाद–जानुका फाउन्डेसन र इनास यूके परिवारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपद्को घडीमा पीडित परिवारलाई सहयोग गर्न अन्य सहयोगी व्यक्ति तथा संस्थाहरूलाई पनि हातेमालो गर्न आग्रह गरे।
फाउन्डेसनका अध्यक्ष शिवाकोटीका अनुसार सहयोगीहरूबाट प्राप्त रकम तथा फाउन्डेसनको आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप उपलब्ध गराएको सहयोगसमेत एकीकृत गरी ७२ पीडित परिवारका लागि राहत सामग्रीको व्यवस्था गरिएको हो।
इनास यूकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका बाढीपीडित परिवारसँग पुगेर सहयोग र सद्भाव साटासाट गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि पीडित परिवारको दुःखमा साथ दिन आफूहरू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
भोटेकोशीको प्रलयमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ। फेला नपरेका तथा जीवित फर्कने सम्भावना नरहेका व्यक्तिका परिवार तथा आफन्तजन आ–आफ्नो धार्मिक परम्पराअनुसार काजक्रियामा रहेका छन्।