पूर्वराजा ज्ञानेन्द्रको आगमनअघि त्रिभुवन विमानस्थलमा कडा सुरक्षा

श्याम खतिवडा

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। झापाबाट हेलिकप्टरमार्फत काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समर्थकहरू विमानस्थल क्षेत्रमा भेला हुने तयारी गरेपछि प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको हो।

स्थानीय प्रशासनले विमानस्थल वरपर निषेधाज्ञा जारी गरेको छ भने विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल दुवै क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। बिहानैदेखि विमानस्थल प्रवेश गर्ने व्यक्तिहरूको कडाइका साथ चेकजाँच भइरहेको छ।

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं अवतरण गरेलगत्तै स्वागत कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ। सम्भावित भीड र सुरक्षाजन्य चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा थप सर्तकता अपनाइएको अधिकारीहरूले बताएका छन्।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार यात्रु तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न चेकजाँच कडा पारिएको भए पनि सुरक्षा जाँच प्रहरीको नियमित कार्य प्रक्रिया अन्तर्गत नै गरिएको हो। प्रशासनले सर्वसाधारणलाई अनावश्यक भीड नगर्न र सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।

प्रतिक्रिया