दोलखा जिल्लाको कालिन्चोक क्षेत्रमा सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण गर्दै समाजमा धर्म, सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ श्री भिरामुनी सेतिदेवी मन्दिर संरक्षण समिति र श्री भिरामुनी सेतिदेवी एकता समाजको संयुक्त आयोजनामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुने भएको छ। आयोजकका अनुसार २०८२ साल माघ १८ गतेदेखि कालिन्चोक गाउँपालिका वडा नं. ४ स्थित भिरामुनी सेतिदेवी मन्दिरको प्राङ्गणमा सुरु हुने यस महायज्ञको पूर्वतयारीस्वरूप माघ १७ गते जग्गे निर्माण गरिनेछ भने माघ १८ गते बिहान ७ बजेर ३० मिनेटमा गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा भव्य कलश यात्रा निकालिनेछ। सोही दिन बिहान १० बजेर ३० मिनेटमा मण्डप पूजन सम्पन्न गरी दिउँसो १२ बजेर ३० मिनेटदेखि संगीतमय श्रीमद् भागवत कथा आरम्भ गरिनेछ, जुन महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म भजन–कीर्तनसहित सञ्चालन हुनेछ। कार्यक्रमको अन्त्यतिर माघ २३ गते साँझ लाखबत्ती जाग्राम आयोजना गरिनेछ भने माघ २४ गते तिलार्चन, हवन, पूर्णाहुति तथा समापन समारोहका साथ महायज्ञ सम्पन्न गरिनेछ। यस धार्मिक अनुष्ठानका प्रमुख कथावाचकका रूपमा पं. सुशील भण्डारी, उप–वाचक पं. सुदाम सुवेदी तथा सहायक गुरुका रूपमा हरिराज भण्डारी रहनु भएको छ। आयोजक संस्थाले कथा वाचन, पूजा–हवन, लाखबत्ती, मण्डप तथा ध्वनि प्रणाली व्यवस्थापन, प्रसाद वितरण र अतिथि सत्कारलगायत सम्पूर्ण व्यवस्थापनका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाउँदै धर्मप्रेमी भक्तजनहरूलाई स्वेच्छिक दान–दक्षिणा तथा सहयोगका लागि आह्वान गरेको छ, साथै दानदाताहरूको नाम श्रद्धापूर्वक अभिलेखमा राखी आवश्यकताअनुसार सार्वजनिक रूपमा कृतज्ञता व्यक्त गरिने पनि जनाएको छ। यस पवित्र धार्मिक महायज्ञमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भई धर्मलाभ आर्जन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणासहित अनुरोध गरिएको छ।