काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद सुनारले आईजीपी कार्कीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको भन्दै सरकारले उनलाई किन कारबाही नगरेको भन्दै प्रश्न उठाए।
‘तल्लो दर्जाका प्रहरीको जुत्ता, मोजालगायतका सामग्रीमा समेत अनियमितता गरेको आरोप उहाँमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप लागेको छ,’ सुनारले भने, ‘यति गम्भीर आरोप लाग्दा पनि सरकारले उहाँलाई बर्खास्त किन गरिरहेको छैन? उहाँमाथि छानबिन किन भइरहेको छैन? के कारणले उहाँलाई बचाइराखिएको हो?’
सांसद सुनारले आईजीपी कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्को सार्वजनिक लेखा समितिसम्म भ्रष्टाचारसम्बन्धी उजुरीहरू थपिँदै गएको दाबी गरे।
उनले सामान्य आरोपकै आधारमा यसअघि तीन जना मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै आईजीपी कार्की, उनकी श्रीमती तथा अन्य उच्च अधिकारीमाथि समेत गम्भीर भ्रष्टाचारका आरोप लागेकाले निष्पक्ष छानबिन हुनुपर्ने बताए।
‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्त भइसक्नुभएको छ। तर, करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठूला अधिकारीमाथि लागेको छ,’ उनले भने, ‘उहाँहरूविरुद्धका भ्रष्टाचारसम्बन्धी उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिसम्म चाङमाथि चाङ थपिँदै गएका छन्।’
सांसद सुनारले आईजीपी कार्कीमाथि लागेका आरोपबारे सरकारले तत्काल छानबिन अघि बढाउनुपर्ने भन्दै प्रतिनिधिसभामार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।