काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकका अनुसार माघ २८ गते दिउँसो ३ बजे निक्षेप संकलनका लागि बोलकबोल गरिनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ४६ दिने अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आउँदो चैत १५ गते भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको छ। यही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई निक्षेप दिन बाध्य भइरहेका छन्।