रूपन्देही । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले)मा समाहित भएको घोषणा गरेका हुन्।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगिसकेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, “देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु।”
यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन्। साथै उनले एमाले रूपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन्।
यस अवसरमा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले र अनुप बराललगायतले यादवलाई स्वागत गरेका थिए।